दिल्लीले छाम्दैछ नेपाली नेताहरुको नाडी



dipesh-kcदीपेश केसी
नेपाली कांग्रेसका सभापति सुशील कोइराला दिल्ली भ्रमणमा निस्कनुभएको छ । कोइरालाभन्दा अघि माधव नेपाल, शेरबहादुर देउवा र प्रचण्डलाई दिल्लीले छुट्टाछुट्टै बोलाएर नाडी छामिसकेको छ । आखिर किन बोलाइरहेको छ दिल्लीले यसरी नेपाली नेताहरुलाई ?
वीपी पुत्रहरू पिताको विचारबाट यताउता हुन चाहँदैनन् । विचारलाई व्यवहारमा लागू गर्न र विकसित गर्न खासै योगदान दिन नसकेका प्रकाश कोइराला र सशांक कोइराला दुवै सक्रिय राजनीतिमा छन् । भारतले राजा फाल्यो र भारतले फर्काउने दाबी गर्छन् प्रकाश । काँग्रेसप्रति भारत नरम छैन भन्ने बुझाइ सशांकमा छ । वीपीलाई जवारहरलाल नेहरूले पेलेकै हुन् । नेहरू स्वयं वीपीका साथी थिए । त्यसबाहेक भारतका नाम चलेका राजनीतिज्ञहरूको वीपीसँग सुमधुर सम्बन्ध थियो । ०१७ सालमा राजा महेन्द्रले कू गरी वीपीलाई जेल हाल्दा राजनीतिक तहमा रहेको वीपीको सम्बन्धले काम गरेन । देशको स्वार्थलाई हेरेर भारतीय नेताहरूले प्रतिक्रिया देखाए । महेन्द्रको कदमलाई भारतले विरोध गरेको भए कू सम्भव थिएन । २००७ सालयता भारतको समर्थन र सहयोगविना नेपालमा ठूला परिवर्तनकारी घटनाहरू भएका छैनन् । यो तीतो सत्य हो ।
भारतीय समर्थनविना आफ्नो पल्ला भारी नहुने भूराजनीतिक यथार्थलाई वीपी पुत्रहरूले जस्तै अरूहरूले स्वीकारिसकेका छन् । माओवादीले दश वर्षे ‘जनयुद्ध’ भारतमा आधार बनाएर लड्यो भन्नेहरू छन् । एसडी मुनीले पुस्तकमार्फत् तथ्यहरू उजागर गरिसके । राजा त्रिभुवनले राणाशासन अन्त गर्न भारत पसी ऊर्जा प्राप्त गरेका हुन् । ०४६ सालको परिवर्तनका लागि काँग्रेस र कम्युनिष्ट मिलाउन भारतले नै भूमिका खेल्यो । ०६३ सालको परिवर्तनको आधार १२ बुँदे सम्झौता भारतको रहोवरमा दिल्लीमा भएको थियो । गणतन्त्र घोषणामा भारतीय भूमिकाबारे जिम्मेवार नेताहरू स्वयं बोल्छन् । भारत नेपालको राजनीतिमा विगत सात दशकयता हावी भइरहेको छ । अबको चुनावमा सबैलाई उसैको साथ चाहिएको छ ।
देशमा चुनावभन्दा चुनावका लागि साथ लिन नेताहरू दिल्ली धाइरहेका छन् । यसै वर्ष एनेकपा माओवादीका अध्यक्ष प्रचण्डबाट शुरू भएको दिल्लीयात्रा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासम्म पुगेको छ । प्रचण्डले दिल्ली आउन निकै कसरत गरेका थिए । भारतसँगको तिक्तता मेट्न लचकता देखाए । भारतीय राजदूत जयन्तप्रसादसँग बाक्लो भेट गरे । यतिसम्मकी चीन जानुभन्दा पहिला भारत जाने बेवस्ता मिलाउन आग्रह गरे । प्रसादले चीन गएर आउनुहोस् केही फरक पर्दैन भनेपछि मात्र गए । प्रचण्डको भ्रमणले उच्च महत्व पाएपनि काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीलाई भेट्न पाएनन् । ६ अर्ब १ करोड मान्छेहरूमध्येमा १२ औं र महिलाहरूमा जर्मन चान्स्लर एन्जेला र्माकरपछिकी शक्तिशाली सोनियालाई नभेट्नुले भ्रमण खल्लो भयो । यद्यपि उनले कर्मचारीतन्त्र हावी भएको भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीसँग विगतको गल्तीप्रति माफी दर्शाएर फर्के । उनको भ्रमणले एउटा आइसब्रेक गर्‍यो ।
त्यसपछि आए शेरबहादुर देउवा । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री देउवाले उच्च राजनीतिक भेटको मौका पाए । सोनियासँग भेटे । उनी दिल्लीमा रहँदा निर्वाचनको मिति घोषणा भयो । देउवा दिल्ली आएकाले चुनावको मिति घोषणा भएको हौवा पिटाउनेहरू थिए । सुशील कोइराला नडाकी देउवा किन डाकिए ? अब काँग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने तर्कहरू बजारमा सुनिए । देउवा दंग परी फर्किए ।
माधवकुमार नेपाल आए । उनले मनमोहन सिंह, सोनिया गान्धीलगायतसँग भेटे । झलनाथ नडाकी किन माधव नेपाल ? प्रश्नहरू उठाइए । झलनाथलाई प्रधानमन्त्री हुँदा समेत भारतले बोलाएन । उनी अमेरिका हानिए । माधव नेपालको भ्रमणले नेपालभित्र निकै चर्चा पायो । भेटघाटको समाचार र तस्वीरले पत्रपत्रिका भरिए । प्रचारप्रसारको व्यवस्थापनमा माधव नेपाल अग्रस्थानमा देखियो । तर, उनको भ्रमण हल्ला गरिए जत्तिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे ।
लामो प्रतिक्षापछि सुशील कोइरालाले भारत भ्रमणको निम्तो पाए । उनको भ्रमणलाई उच्च महत्वका साथ प्रस्तुत गरिएको छ । कोइरालालाई राजनीतिक तहको सम्बन्ध विकसित गर्ने सुझाव छ । वीपी, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको राजनीतिक तहको सम्बन्धबारे सम्झाइएको छ । ती सम्बन्धहरूले अन्तगत्वा काम नगरेको बारे हेक्का छैन । गिरिजाप्रसादको राष्ट्रपति बन्ने धोको भारतीय सहयोग नहुँदा पूरा नभएको हो । सुशील नेपालसँग ठूलो क्षेत्रफल जोडिएको उत्तर प्रदेश र विहारका मुख्यमन्त्रीहरू क्रमशः अखिलेश यादव र नितिश कुमारलाई समेत भेट्छन् । नितिश उनको पुराना साथी हुन् । सँगै जेल बसेका थिए । अन्य भारतीय नेताहरूलाई प्राथमिकतामा राखेर भेट्नेछन् । कर्मचारीतन्त्र हावी भएको देशमा नेतातहको सम्बन्धले मात्र काम गर्दैन । नेपाल मामलामा कर्मचारी र विज्ञहरूले बुझाएको रिपोर्ट र सुझावले विशेष अर्थ राख्ने हो ।
भारतले एक-एक गरी नाडी छाम्ने हेतुले निम्तो गरेको छ । राष्ट्रिय हितको नाम दिए पनि नेताहरूले पहिले व्यक्तिगत, पार्टीगत अनिमात्र देशहितको कुरा गरेर फर्किएका थिए । सुशीलको प्राथमिकतामा काँग्रेसलाई आगामी चुनावमा पहिलो स्थान दिलाउन भारतीय सहयोगको आग्रह पर्ने निश्चितप्रायः छ । उनले आउनुअघि अन्य दलका नेता र विज्ञहरूलाई भेटेर चाहिं राम्रो गरेका छन् । जो जसरी आए पनि भारतीय आशिर्वाद थाम्न आएको सन्देश देशभित्र प्रवाह भइसक्यो । भारतले दिएको निम्तो र क्रमैसँग आएका नेताहरूबाट त्यस्तै सन्देश गएको छ । नेताहरू तलाई ठूलो फूलको गुच्छाले स्वागत गर्‍यो कि मलाई भनी ढोल पिट्दैछन् ।
(केसी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ )

Post a Comment

Previous Post Next Post